20 June 2007

‘इन्डियन आइडल’ मा नेपाली चासो



त्यसो त नेपालमा नेपाल टेलिभिजनमा हाम्रो आफ्नै ‘नेपाली तारा’ पनि प्रसारण भइरहेको छ, तर चर्चा भने इन्डियन आइडलमा दार्जीलिङका प्रतिस्पर्धी प्रशान्त तामाङको बढी भइरहेको छ। काठमाडौँमा उनको चर्चा छ, इन्टरनेटदेखि लिएर पत्रपत्रिकासम्म पनि उनको चर्चाबाट अछुतो छैन। आज इन्डियन आइडलको फाइनलमा पुग्नेहरुको रिजल्ट सुनाउने कार्यक्रम पनि काठमाडौँमा विशेष चासोका साथ हेरिएको थियो। हिजो बटम फोरमा पुगेका कारण आज उनी आउट हुनसक्ने चिन्तालाई गलत ठहर्‍याउँदै होस्टले फाइनलमा पुग्ने पुरुषहरुको सूचिमा दोस्रो नम्बरमा नै उनको नाम लिएपछि भने सबै आश्वस्त भएका थिए।

आजको कार्यक्रमको भिडियो यहाँ हेर्न सक्नुहुन्छ।

घरमा नेपाली बोल्ने प्रशान्तसित नेपालका गायक जज उदितनारायण झाले कार्यक्रमका क्रममा नेपालीमा केही कुरा गर्ने गरेका छन्।

प्रशान्तको चर्चा अमेरिकन आइडलका भारतीय प्रतिस्पर्धी सञ्जय मालाकारको शैलिमा भइरहेको छ। दार्जीलिङतिर प्रशान्तको लागि भोट माग्न विशेष क्याम्पेन भइरहेका छन्। पत्रपत्रिकाले विशेष विज्ञापन छापेका छन्। ब्यानरहरु टाँगिएका छन्। नेपालमा त्यस्तो खासै केही नभए पनि चर्चा भने भइरहेको छ। त्यसो त नेपालबाट भोट दिन पनि मिल्ने अवस्था छैन। बरु खाडी मुलुक र बेलायततिरका दर्शकले भोट दिन पाउने व्यवस्था छ।


फोटो सौजन्यः प्रशान्त फ्यान क्लब

सानैदेखि गीत गाउन रुचाउने उनी हाल भारतीय प्रहरीको अर्केस्ट्रामा कार्यरत छन्। सन् २००२ देखि उनी कोलकाताको प्रहरीसित आवद्ध छन्। त्यही भएर भारतीय प्रहरीको ठूलो हिस्सा पनि उनको पक्षमा रहेको छ। उनले गायनको अ‍ौपचारिक प्रशिक्षण भने अहिलेसम्म लिएका छैनन्। त्यसैले गायनमा पोख्त अरु प्रतिस्पर्धीहरुका अगाडि उनको फाइनल यात्रा अब झनै कठिन हुनेछ। त्यसमाथि कोलकाता कै अर्का एक प्रतिस्पर्धी पनि फाइनलमा थपिएबाट त्यहाँबाट पाउने भोट बाँडिने निश्चित छ।

हेरौँ इन्डियन आइडलको यो नेपाली चासोको यात्रा कहाँसम्म हुने हो। नेपालीको नाताले हामी पनि शुभकामना पक्कै व्यक्त गर्छौँ। प्रशान्त शुभकामना छ !

यो पनि हेर्नुस्
Darjeeling plans SMS blitz to keep crooner’s dream alive
Indian Idol Videos
Prashant Tamang In Piano Round
Prashant tamang in action!
Indian Idol 3 Blog
India Idol- विकिपेडिया

http://www.mysansar.com/?p=1652

No comments: