आइडलको कामना
ँतिमी सपनाको मायानगरीमा सफलताको गीत गाउनू,
हामी सौन्दर्यको सहरबाट सफलताको भोट गर्नेछौं ।’
बेनुपराज भट्टराई
तुङसुङ -दार्जिलिङ)- अरू बेला पर्यटकको भीडले खचाखच हुने दार्जिलिङको चौरस्ता चौकमा बिहीबार सयौं स्थानीय भेला भएका थिए । बाक्लो हुस्सु, लगत्तै फाट्टफुट्ट झरी र फेरि चर्को घाम लाग्ने दार्जिलिङको 'बेटुंगे मौसम' का बावजुद मुहारमा खुसी बोकेर आएका सबैको कुराकानीको सार एउटै थियोý— दार्जिलिङका नेपालीमा प्रतिभाको कमी छैन । उनीहरू त्यहाँ भारतीय टीभी सोनीबाट प्रसारित 'इन्डियन आइडल' मा सहभागी प्रशान्त तामाङको हौसला बढाउन पुगेका थिए ।
नेपाली पत्रिका 'हिमालय दर्पण' ले ठूलो ब्यानर राखेर समर्थन र शुभकामनाका हस्ताक्षर संकलन गरिरहेको थियो । सहभागीहरूले टीभी च्यानलमा अन्तर्वार्ता दिनेदेखि सिठी फुकेर प्रशान्तका पक्षमा प्रचार गरिरहे । उनीहरूले एसएमएसमार्फत सक्दो 'भोट दिन' आग्रह गरे । धेरै वटा ट्याक्सीले प्रशान्तकै तस्बिरअंकित ब्यानर राखेर माइकिङ गरे । आइडलमा प्रशान्तको प्रस्तुति दरिलो बन्दै जाँदा यहाँका शिक्षक-शिक्षिकासमेत विद्यार्थीलाई 'हाम्राे आफ्नै आइडल' को प्रचार गर्न आग्रह गरिरहेका छन् । चियापसलदेखि टिकट काउन्टरसम्म प्रशान्त छाएका छन् ।
२२ वर्षे प्रशान्त दार्जिलिङनजिक तुमसुङका निवासी हुन् । स्कुले प्रतियोगितामा गाएर पुरस्कार हात पारेका प्रशान्तको आइडल सहभागिताले दार्जिलिङवासीलाई नेपालीत्वमा बाँधिने दरिलो अवसर दिएको छ । 'प्रशाान्त यो स्थानमा पुग्नु समग्र दार्जिलिङवासी नेपालीका लागि गौरवको कुरा हो,' चौरस्ताको कार्यक्रममा पुगेकी प्रशान्तकी आमा रूपाले भनिन्- 'उसलाई जिताएर समग्र गोर्खालीको शिर उँचो राख्नुपर्छ ।' विभिन्न क्लब, संस्था, स्कुलले पर्चा-पम्प्लेट छाप्नेदेखि सार्वजनिक स्थलमा ब्यानरै टाँगेर प्रशान्तलाई जिताउन आग्रह गरेका छन् । 'दार्जिलिङ पुलिस' ले राखेको एउटा ब्यानरले यस्तो घोषणा गर्छ- 'इन्डियन आइडलको भोटिङ राउन्डमा पुग्न सफल पहिलो भारतीय नेपाली प्रशान्त हाम्रा इज्जत हुन् ।' संगीतकार कर्म योञ्जनले भने- 'कसैले नसोचेको अवस्थामा प्रश्ाान्तले राम्रो काम गरेर प्रवासी नेपालीलाई चिनाएको छ ।'
कलिउड नायिका निरुता सिंह यसै क्षेत्रकी हुन् र केही दिनअघि आफ्नो घर आएकी थिइन् । आइडलमा प्रशान्तको प्रस्तुति प्रभाव पार्ने खालको भएको उल्लेख गर्दै आफूले थुप्रै एसएमएस भोट गरेको उनले बताइन् । 'जति दिन बसें, त्यति दिन भोट हालें,' उनले सुनाइन्- 'बोल्दा नेपाली उच्चारण तलमाथि भए पनि गाउँदा खोट छैन । -आइडलका निणर्ायक तथा भारतीय गीतकार) जावेद साहेबले समेत उसको उच्चारणको प्रशंसा गर्नुभयो । आफ्नो दाजुभाइको प्रशंसा सुन्दा गौरव लाग्यो ।'
केही दिनअघिको एउटा कार्यक्रममा जावेद अख्तरले प्रशान्तलाई घरमा कुन भाषा बोलिन्छ भनी सोधेका थिए । प्रशान्तबाट नेपाली बोल्ने थाहा पाएपछि उनले नेपालीमा नभएका कतिपय शब्दको उच्चारण राम्रो भएको टिप्पणी गरेका थिए । अर्का निणर्ायक गायक उदितनारायण झाले प्रशान्तसँग नेपालीमै छोटो वार्ता गर्ने गरेका छन् ।
'मैले सय पटकभन्दा बढी एसएमएस गरेर उसलाई भोट दिएँ,' चौरस्तामा भेटिएकी सुनिता तामाङले भनिन् । संगीतप्रेमी अर्की गृहिणी सुरेशना छेत्रीले सुनाइन्- 'हामीले गाउँमा साँझैपिच्छे पटका पड्काएर प्रशान्तको जयजयकार गरिरहेछौं ।' सबै काम थाती राखेर राति 'इन्डियन आइडल' हेर्न नछुटाउने उनी जस्ता धेरै कार्यक्रममा पुगेका थिए ।
एक्लो नातिलाई 'ठूलो गायक' का रूपमा देख्ने सपना साँचेकी ७८ वषर्ीया सञ्जवती तामाङ पनि लौरो टेक्दै चौरस्ता पुगेकी थिइन् । 'टीभीमा नातिले गाएको देख्दा सार्है खुसी लाग्छ,' वृद्धाले भनिन्- 'अब उसलाई पहिलो पार्न सबैले सहयोग गरेको हेर्न चाहन्छु ।' प्रशान्तका कतिपय फ्यानले एउटा मोबाइल कम्पनी निष्प्रभावी भए अर्काको सिमकार्ड किनेर एसएमएस गरिरहेका छन् । दार्जिलिङ सब-डिभिजनका विधायक प्रणय राईले बारम्बार 'प्रशान्तलाई जिताऔं' भनिरहेको देखियो ।
सिक्किममा मुख्यमन्त्री पवन चाम्लिङले सबै सरकारी कर्मचारीलाई एसएमएस गरेर 'नेपाली गायकलाई इन्डियन आइडल बनाउन' मौखिक आग्रह गरेका छन् ।
एसएमएस भोट गर्ने अघोषित होडबाजी चलिरहेकै बेला प्रशान्तका दार्जिलिङे फ्यानले कवितात्मक शुभकामना दिइरहेका छन्- 'तिमी सपनाको मायानगरीमा सफलताको गीत गाउनू, हामी सौन्दर्यको सहरबाट सफलताको भोट गर्नेछौं ।' औपचारिक रूपमा संगीत नसिकेका प्रशान्तले आइडल उपाधि जित्नेमा यस क्षेत्रका बासिन्दा आशावादी देखिन्छन् । 'उसले दर्बिलो भएर प्रतिभा देखाउन सकेको खण्डमा,' गायिका शान्ति ठटालले भनिन्- 'पछाडिबाट सहयोग गर्न हामी बहुत छौं ।'
निम्नवर्गीय परिवारमा जन्मिएका प्रशान्त सन् २००२ देखि भारतीय प्रहरीमा भर्ना भई कोलकातामा कार्यरत छन् । दुर्घटनामा मृत्यु भएका बुवा मदनको स्थानमा उनी जवान भएका हुन् । 'प्रहरी ब्यान्डमा आबद्ध भएर भाइले गीत गाउन थालेको हो,' दिदी अर्चनाले भनिन् ।
प्रशान्तले गाएको हेर्नकै लागि पसलबाट नयाँ टीभी किनेर ल्याउनेको पनि कमी छैन दार्जिलिङमा । 'सबैको आँखाको नानी बन्न सफल प्रतिभालाई हेर्न छुटाउनु भएन,' गायक अजनिश राईले भने । अहिले पियानो राउन्डमा प्रतिस्पर्धा गरिरहेका प्रशान्त त्यो चरण पार गरे 'टप-टेन' मा छनोट हुनेछन् । त्यसमा पाँच युवक र पाँच युवतीबीच प्रतिस्पर्धा हुनेछ । 'एसएमएस भोटिङ' का आधारमा उक्त चरणबाट 'उत्कृष्ट गायक' घोषणा गरिनेछन् ।
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=111962
No comments:
Post a Comment